

काठमाडौँ : मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै निवासबाट फेरि पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक र भ्रामक अभिव्यक्ति दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईँले जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा समेत रहेकी सांसद रचनालाई छोराको लाशमा टेकेर संसद् छिरेको गम्भीर आरोप लगाएका थिए। उक्त अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि जनाउँदै सांसद खतिवडा संसद् बैठकमै भक्कानिएर रोएकी थिइन्। लगत्तै खतिवडा परिवारका तर्फबाट साइबर ब्यूरोमा कारबाहीको माग गर्दै औपचारिक उजुरी दर्ता भएको थियो ।
प्रसाईँका छोरा निराजन प्रसाईँका अनुसार प्रहरी टोलीले पक्राउ पूर्जी देखाएरै उनलाई घरबाट नियन्त्रणमा लिएको हो। विद्युतीय कारोबार ऐन (साइबर)अपराध अन्तर्गतको कसुरमा छानबिन गर्न उनलाई हिरासतमा राखिएको बताइएको छ । सामाजिक सञ्जालमार्फत गैरजिम्मेवार र अपमानजनक टिप्पणी गरेको विषयमा उनीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |