


काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवादका अधिकांश प्राविधिक विषय टुङ्गो लागिसकेको भए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको सिमाङ्कन भने अझै बाँकी रहेको बताएका छन्।
राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ती भूभागमा दुवै देशका प्राविधिक टोलीले हालसम्म सिमाङ्कन नगरेको स्वीकार गरे। तर ती सबै भूभाग नेपालकै भएको दाबी ऐतिहासिक प्रमाण, नक्सा र दस्तावेजका आधारमा स्पष्ट रहेको उनको भनाइ थियो।
खनालका अनुसार विवादित मुख्य क्षेत्रबाहेक अन्य सीमाक्षेत्रमा द्विपक्षीय प्राविधिक समितिले नापजाँचसम्बन्धी काम निरन्तर अघि बढाइरहेको छ। नेपालले उपलब्ध ऐतिहासिक प्रमाणका आधारमा भारतसँग कूटनीतिक संवादमार्फत सीमा विवाद समाधान गर्ने नीति लिएको उनले बताए।
भारतका समकक्षीसँगको भेटमा पनि यही धारणा राखिएको उल्लेख गर्दै उनले दुई देशबीच मतभेद रहनु अस्वाभाविक नभए पनि त्यसको समाधान तथ्य, प्रमाण र आपसी वार्ताबाट खोजिनुपर्नेमा नेपाल स्पष्ट रहेको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |