


काठमाडौँ : विश्व शान्तिका सन्देशवाहक सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटनासँग जोडिएकाले विशेष महत्व राख्छ। यही दिनको स्मरणमा नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक यो पर्व मनाउने परम्परा छ ।
शान्ति, अहिंसा र मैत्रीका प्रवर्तकका रूपमा चिनिने गौतम बुद्धलाई हिन्दू धर्ममा भगवान् विष्णुको नवौँ अवतारका रूपमा पनि मानिन्छ। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने उनका सन्देश आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन्।
बुद्ध जयन्तीका अवसरमा देशभरका चैत्य, गुम्बा र विहारमा पूजा–आराधना गरिन्छ। विशेषगरी लुम्बिनी, स्वयम्भू र बौद्ध क्षेत्रमा लामा तथा बौद्ध गुरुहरूको उपस्थितिमा धार्मिक विधि सम्पन्न गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ।
इसापूर्व ५६३ मा रुपन्देहीको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमले मानव जीवनका दुःखबाट मुक्ति खोज्दै २९ वर्षको उमेरमा राजदरबार त्यागेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |