काठमाडौँ : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना र रात्रि जाग्रामसँगै यस वर्षको १५ दिन लामो बडादसैँ पर्व आइतबार विधिवत रुपमा समापन भएको छ । दुर्गा पक्षको अन्तिम दिन आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का अवसरमा साँझ घर घरमा महालक्ष्मीको पूजा गरिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आइतबार नै अखिल बलिपूर्तिको काम सम्पन्न भएसँगै विजयादशमीदेखि सुरु भएको टीका जमरा र मान्यजनबाट आशीर्वाद लिने क्रम सकिएको छ । पूजापछि घरका जमरा नजिकैका पवित्र नदी तथा तलाउमा सेलाइएको छ ।
कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बस्ने भक्तजनका घरमा महालक्ष्मीले प्रवेश गरी धन(ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास छ । पूर्णिमाको साँझ महालक्ष्मीका साथै हात्तीमा सवार इन्द्रको समेत पूजा आराधना गरिएको छ । यससँगै घटस्थापनाका दिनदेखि सुरु भएको दसैँ पर्व औपचारिक रूपमा बिदा भएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |