


काठमाडौं : विश्वको सैन्य इतिहासमा गोर्खालीु शब्द साहस, इमान्दारिता र वीरताको पर्याय मानिन्छ। वीरताको यही गाथाले गर्दा नै विश्वका शक्ति राष्ट्रहरूले नेपाली युवाहरूलाई आफ्नो फौजमा सामेल गराउन सधैँ लालायित रहे। ब्रिटिस र भारतीय सेनामा गोर्खालीको छुट्टै पहिचान त छ नै, तर इतिहासको एउटा यस्तो रोचक प्रसङ्ग पनि छ जुन धेरैका लागि नयाँ हुन सक्छ- त्यो हो, छिमेकी राष्ट्र चीनले गोर्खाली सैनिक भर्ती गर्न गरेको प्रस्ताव।
नेपाली सेनाका पूर्व कर्णेल सन्तोषजंग ज्यु ठाकुरका अनुसार, गोर्खालीहरूको फौजी तागत र विशिष्ट गुणलाई कदर गर्दै चिनियाँ सरकारले पनि उनीहरूलाई आफ्नो फौजमा राख्न चाहेको थियो।
तिब्बतको सुरक्षा र गोर्खालीको प्रभाव
त्यतिबेला चिनियाँ सरकारलाई तिब्बत क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन निकै चुनौती थियो। तिब्बतीहरूसँग भइरहने आन्तरिक कलह र झै(झगडालाई शान्त पार्न गोर्खाली फौज नै सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ भन्ने चिनियाँ अधिकारीहरूको बुझाइ थियो। ुतिब्बतीहरूलाई तह लगाउन गोर्खालीले मात्र सक्छन् भन्ने विश्वासले गर्दा उनीहरू नेपाली सैनिकको साथ चाहन्थे।
यसको अर्को आधार ल्हासामा रहेको नेपालको वकिल कार्यालयु पनि थियो। हालको महावाणिज्य दूतावास जस्तै काम गर्ने उक्त कार्यालयको सुरक्षाका लागि एउटा सानो नेपाली कम्पनी फौज हतियारसहित त्यहाँ तैनाथ हुन्थ्यो। नेपाली सैनिकहरूको त्यो सानो टुकडीले देखाएको कार्यकुशलता र अनुशासनलाई चिनियाँहरूले निकै नजिकबाट नियाल्ने अवसर पाएका थिए।
दुई हजार सैनिकको त्यो प्रस्ताव
पूर्व कर्णेल ठाकुरका अनुसार, चिनियाँ सरकारले केवल इच्छा मात्र देखाएन, उसले करिब २,००० गोर्खाली सैनिकहरू भर्ती गर्न पाउँ भनी तत्कालीन राणा सरकारलाई औपचारिक रूपमा ुलेखापढीु वा पत्राचार नै गरेको थियो। यो प्रस्ताव स्वीकार भएको भए सायद आज गोर्खालीहरूको इतिहासमा अर्को एउटा अध्याय थपिने थियो।
कूटनीतिक सन्तुलनको चेपुवा
चीनको यो प्रस्ताव तत्कालीन राणा प्रधानमन्त्रीका लागि एउटा जटिल कूटनीतिक विषय बन्यो। त्यतिबेला नेपालको फौजी र रणनीतिक सम्बन्ध मुख्यतया बेलायतसँग मात्र प्रगाढ थियो। चीनमा फौज पठाउँदा दक्षिणतर्फको शक्ति राष्ट्र बेलायत रुष्ट हुन सक्ने र नेपालले अपनाउँदै आएको कूटनीतिक सन्तुलनमा खलल पुग्न सक्ने जोखिम थियो।
राज्य सञ्चालनमा शक्ति राष्ट्रहरूबीचको सन्तुलन मिलाउनु पर्ने बाध्यताका कारण नेपालले चीनको त्यो प्रस्तावलाई तत्काल स्वीकार गर्न सकेन। फलतः चीनमा गोर्खाली फौज पठाउने त्यो अध्याय इतिहासको एउटा ओझेल परेको पानामा मात्र सीमित रहन पुग्यो।
आज ब्रुनाईका सुल्तानको अंगरक्षकदेखि विश्वका विभिन्न शान्ति मिसनहरूसम्म नेपाली सैनिकको उपस्थिति त छ नै, तर पूर्व कर्णेल ठाकुरले सुनाएको यो ऐतिहासिक प्रसङ्गले नेपाली वीरताको चर्चा कुन स्तरसम्म पुगेको थियो भन्ने कुराको पुनः पुष्टि गर्दछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |