


काठमाडौँ : ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाल चेक अनादर मुद्दामा कारागार चलान भएको एक महिनाभित्रै उच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्। पैतृक सम्पत्तिबाट आर्थिक दायित्व व्यवस्थापन गर्ने आधार देखिएपछि उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो।
नेपाललाई चेक अनादरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७९ जेठ २५ गते दुई वर्ष कैद सजाय सुनाएको थियो। उक्त मुद्दा युवराज खत्रीको जाहेरीका आधारमा दर्ता भएको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गत जेठ २५ गते पक्राउ गरेको थियो। त्यसपछि उनी डिल्लीबजार कारागार चलान भएका थिए।
फैसलाविरुद्ध पुनरावलोकनको माग गर्दै नेपालले उच्च अदालतमा निवेदन दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले पैतृक सम्पत्तिबाट आर्थिक कारोबार मिलाउन सकिने अवस्था रहेको ठहर गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको स्रोतले जनाएको छ। आदेशसँगै नेपाल कारागारबाट रिहा भएका हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |