


काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि मनसाय नराखेको प्रष्ट पारेका छन्। लोकतन्त्रको मुख्य आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएकाले यसप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ।
नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकारका सुरुवाती १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेकाले प्रेस स्वतन्त्रता हनन गर्ने कुनै सोच नरहेको उल्लेख गरे। ‘संवैधानिक हक कार्यान्वयनमा सरकारले बाधा पुर्याउँदैन, प्रेस स्वतन्त्रता हननसम्बन्धी कुनै समस्या भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार तयार छ,’ उनले भने। पत्रकारितालाई थप बलियो र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै उनले पत्रकारिता जगतलाई पनि सामाजिक दायित्वप्रति जिम्मेवार हुन आग्रह गरे।
कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले आगामी संघीय सञ्चार कानुन, आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पत्रकारको व्यावसायिक उत्तरदायित्वबारे राष्ट्रिय बहस आवश्यक रहेको र यी विषय सम्मेलनको मुख्य एजेन्डा रहेको जानकारी दिइन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |