


काठमाडौँ : दार्चुलाको तिङ्कर भञ्ज्याङस्थित नेपाल–चीन सीमाको १ नम्बर जङ्गे सीमा स्तम्भमा अभिनेता, निर्माता तथा लेखक नवल खड्काको आत्मकथात्मक पुस्तक ‘नवल खड्का’ विमोचन गरिएको छ।
सोही अवसरमा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै ‘० नम्बर पिलर देखाऊ, सीमामा काँडेतार लगाऊ’ भन्ने सार्वजनिक चुनौती दिएका छन्।
५,२५८ मिटर उचाइमा रहेको सीमा स्तम्भमा राष्ट्रिय जेन्जी नागरिक अभियानको आयोजनामा सम्पन्न कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहको अध्यक्षता रहेको थियो। कार्यक्रममा सह-संयोजक अजय सोडारी, पत्रकार मनोज बडु लगायतले खड्काको राष्ट्रवादी विषयवस्तुमाथि केन्द्रित चलचित्र र पुस्तकले राष्ट्रिय चेतना प्रवर्द्धनमा योगदान पुर्याएको धारणा राखे।
खड्काले आफ्नो पुस्तक तथा ‘भिमदत्त’ र ‘काँडेतार’ चलचित्रबाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि समर्पण गर्ने घोषणा गरे। उनले सीमामा सीसी क्यामेरा जडान, नेपाली सेनालाई पूर्ण जिम्मेवारी, युवालाई आधारभूत सैनिक तालिम तथा ‘शान्ति क्षेत्र नेपाल’ अवधारणालाई पुनर्जीवित गर्नुपर्ने माग दोहोर्याए।
उनले महाकाली, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको वास्तविक अवस्था बुझ्न सरकारका प्रतिनिधिलाई स्थलगत भ्रमण गर्न आग्रह गर्दै जङ्गे सीमा स्तम्भलाई आधार मानेर सम्पूर्ण सीमामा काँडेतार लगाउने काम सुरु गर्नुपर्ने बताए। तिङ्कर भञ्ज्याङमा भ्यूटावर निर्माण गरी कैलाश–मानसरोवर दर्शनसँग जोडिएको धार्मिक तथा पर्यटकीय सम्भावना विकास गर्न पनि उनले सरकारसँग आग्रह गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |