

काठमाडौँ : राजनीतिक विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाललाई मोरङको सलकपुर (सुन्दरहरैँचा) बाट बेलबारीस्थित प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। साथीभाइ तथा सहकर्मीहरूसँगको राजनीतिक छलफलका लागि असोज २ गते पूर्वतर्फ गएका दाहाललाई काठमाडौँ फर्किने क्रममा असोज ४ गते आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
साथीभाइसँगको भेटघाट र राजनीतिक छलफल सकिएलगत्तै काठमाडौँ फर्किन लागेका बेला दाहालमाथि भएको यो धरपकडलाई लिएर चौतर्फी विरोध सुरु भएको छ। सत्ता र शासन व्यवस्थाका त्रुटिहरूविरुद्ध निरन्तर र सशक्त रूपमा प्रतिपक्षी भूमिका निर्वाह गर्दै आएका दाहालको गिरफ्तारीले वर्तमान कथित लोकतान्त्रिक गणतन्त्रको वास्तविक चरित्र उजागर गरेको भन्दै विश्लेषकहरूले आपत्ति जनाएका छन्।
विगतका कुनै पनि सत्ताले यस्तो स्वेच्छाचारी हर्कत नगरेको दाबी गर्दै भदौ २३ र २४ गतेको घटनापश्चात सत्तामा आएका शक्तिहरूले राज्य संयन्त्रको पूर्ण दुरुपयोग गरिरहेको आरोप लगाइएको छ। राजनीतिक विचार व्यक्त गर्ने र सर्वसाधारणमाथि शासकीय दमन बढाउँदै लगेको भन्दै यो कदमले राज्य तीव्र रूपमा फासीवादतर्फ उन्मुख भइरहेको गम्भीर आशङ्का पैदा गरेको छ।
नागरिकको संवैधानिक अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै प्रहरी प्रशासनको प्रयोग गरी गरिएको यस धरपकडप्रति कडा खेद व्यक्त गर्दै विभिन्न राजनीतिक वृत्तबाट सशक्त विरोधको आह्वान गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |