काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै शर्माले यो जित यात्राको सुरुवात मात्र भएको र मुख्य लक्ष्य प्राप्त गर्न बाँकी रहेको उल्लेख गरेका छन्।
‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन! हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘अफ्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले। जोड्नु छ भिन्न मत र मनहरू।’
उनले इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई पछ्याउन र कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। देशको समुन्नति सम्भव तुल्याउन ‘सक्नुपर्छ र सक्नेछौँ’ भन्ने विश्वास व्यक्त गर्दै शर्माले नवनिर्वाचित सभापति थापालाई अपार विश्वास र दृढ साथ रहेको बताएका छन्।
‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना!’ भन्दै शर्माले थापाप्रति ऐक्यबद्धता जनाएका हुन्। आज बिहान सार्वजनिक मतपरिणामअनुसार थापा ६ हजार ५८४ मत ल्याएर सभापतिमा विजयी भएका हुन् भने अन्य पदाधिकारीको मतगणना आजै दिउँसोदेखि सुरु हुनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |