केशवप्रसाद चौलागाईं
ऐतिहासिक र रमणीय धेरै स्थानहरु रहेको महालक्ष्मी नगरपालिका स्थित इबिदह( बोझे पोखरी) पनि महत्त्वपूर्ण स्थलका रुपमा रहेको छ।शहर भित्र पानीले भरिएको इबिदह ( बोझे पोखरी) सबैको आकर्षणका साथै भरोसाको पनि केन्द्र बन्दै गइरहेको छ।पोखरीमा पौडिइ रहेका सेता हाँस तथा चारै तिरको भ्रमण पथमा परिक्रमा गरिरहेका मानिसहरु पनि दर्शनीय बन्न पुग्छन।पोखरिको परिशरमा रहेका सत्येश्वर महादेव,सत्यदेवी,मुचुकुन्द नाग,गौरामहेश्वर,हनुमान,नवग्रह,बुढानिलकण्ठ ,सप्तऋषि तथा अन्य मन्दिर तथा स्थान हरु सबैका आस्थाका आधार बनेका छन।नवरात्री,छठ,महाशिवरात्री,श्रीकृष्ण जन्माष्ठमी,तीज,गौरा पर्व,श्रावण शिव पूजन तथा नित्य योगासनका कारण तिर्थमय बन्दै गइरहेको छ।
स्वराज्य पूजन तथा यात्रा कार्यक्रम बिष्ट टोल स्थित लालगणेश,ललिता देवी,बोझेपोखरी,इन्द्रेश्वर महादेव तथा पैनाचल हनुलिंगेश्वर मन्दिर हुदै पुनः बोझे पोखरीमा पुगी सम्पन्न हुने यात्राले अभौतिक सम्पदाको अभ्यासलाई निरन्तरता दिने गरेको छ।पोखरीका चारै तर्फ खुलेका चिया पसलहरुले पनि त्यस क्षेत्रको रमणीयतालाइ बढाउनुका साथै व्यावसाय मार्फत समृद्धिमा पुग्ने उदाहरण बनेका छन।मुलुकका विभिन्न जिल्ला बाट यहाँ बसोबास गर्ने जनसमुदाय हरुको जमघटले राष्ट्रिय एकता र सहिष्णुताको परिचय दिने गरेका छन।शान्ति ,न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता लाई प्रत्यक्ष रुपमा अभ्यासमा ल्याउन सफल बोझे पोखरी क्षेत्र सबैले आफ्नो ठान्ने स्वराज्यको नयाँ सम्भावना बन्दै गइरहेको छ।
खुला संग्रहालयका रुपमा अभ्यासमा रहेको यश स्थलमा निर्मित खानेपानी भवनमा ” सम्पदा र शान्ति ” बिषयक प्रवचन,गोष्ठी हरुले विभिन्न क्षेत्रका विद्वान ,भक्त तथा नीति निर्माताहरुलाइ पनि आकर्षित गर्दै सबै रमणीय चिया पसलहरुमा समय बिताउने अभिलाषालाई पूरा गर्दछन।सम्पदा र शास्त्र लाई उल्लेख गर्दै स्थानीय सरकार सञ्चालन सम्बन्धि प्रशिक्षण ,अन्तरकृयामा सहभागी हुन धेरै क्षेत्रका बुद्धिजीवी ,जनप्रतिनिधिहरु पनि आगमन हुनु सुखद बन्दै गइरहेको छ।साँझपखको चम्किलो वत्तिको प्रकाश र पोखरीको पानीको छचल्काइ सबैका लागि रमणीय र आकर्षक बन्नु स्वभाविकै हो।स्वराज्य र समृद्धिको झझल्को दिने गरेको बोझेपोखरीको भ्रमणका साथै पवित्र पूजन तथा परिक्रमामा सहभागी बनौ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |