चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व र संगठन विस्तारलाई वडा तहदेखि व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । उनले स्थानीय तहबाटै नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्दै जिम्मेवारी हस्तान्तरणको अभ्यास अघि बढाउनुपर्ने बताएका हुन् ।
निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका नेता तथा कार्यकर्तासँगको भेटमा लामिछानेले वडा, पालिका र जिल्ला हुँदै प्रदेश तथा केन्द्रसम्म नेतृत्व सम्हाल्न सक्ने क्षमता भएका व्यक्तिहरू तयार पार्नुपर्ने बताए।
पार्टी सदस्य वा मतदाता भएकै आधारमा कसैले पनि गलत काम गर्ने छुट नपाउने उल्लेख गर्दै उनले रास्वपा विधि र पद्धतिमा विश्वास गर्ने दल भएको बताए। राज्यका सबै निकायले कानुन र विधिको पालना गर्नुपर्ने उनको भनाइ थियो।
लामो समय निर्वाचन क्षेत्रमा बाक्लो उपस्थिति जनाउन नसकेको स्वीकार गरेका उनले जनतासँगको सम्पर्क भने नटुटेको दाबी गरे। नागरिकले सामान्य कामका लागि पनि सांसद खोज्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीय पार्टी संयन्त्र सक्रिय हुनुपर्ने उनले बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |