काठमाडौं : चाडपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुत बनाउन प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
आइतबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा उपत्यकाका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा विशेष सतर्कता अपनाउन आग्रह गरेका हुन्।
दीपावली, नेपाल संवत् र छठलगायतका पर्वलाई लक्षित गरी तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै केसीले जिम्मेवार क्षेत्रको सुरक्षा व्यवस्थापनमा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन दिए।
चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनलाई नागरिकमैत्री बनाउनुपर्ने उनको भनाइ थियो। प्रहरी कर्मचारीको आचरण, व्यवहार र कार्यशैली सुधार गर्दै व्यावसायिक, उत्तरदायी तथा जवाफदेही सेवा प्रवाह गर्न पनि उनले निर्देशन दिए।
पटका लगायतका विस्फोटक पदार्थको कारोबार नियन्त्रण तथा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिप्रति सचेत रहन उनले प्रहरीलाई आग्रह गरे।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उपत्यकाको शान्ति सुरक्षा, चुनौती र अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |