काठमाडौँ : भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा मलद्वार र भित्री बस्त्रमा लुकाएर ल्याइएको करिब साढे दुई केजी सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङ स्थायी घर भएकी ४५ वर्षीया लिन लिना र सोही स्थानकी ३५ वर्षीया लिन जिनपिङ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। उनीहरू हिजो राति ११ः१५ बजे क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै काठमाडौँ ओर्लिएका थिए।
जाँचका क्रममा दुवै जनाको साथबाट प्लास्टिकले बेरिएका ८ थान गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्लास्टिकको र्यापसहित उक्त पदार्थको तौल २ केजी ३ सय ४८ ग्राम रहेको छ।
प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको छ र आजै उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |