काठमाडौं : साउन २३ गते कैलाली जिल्ला कारागारमा कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारले कारागार व्यवस्थापन र सुरक्षा सुधारका लागि ११ बुँदे निर्देशन जारी गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी निर्देशनमा मृतक भरत चौधरीको परिवारलाई ५ लाख सहयोग, घाइतेको निःशुल्क उपचार, घटनाको प्रतिवेदन तयारी, पोस्टमार्टम, कारागारभित्र थप प्रहरी सुरक्षा, भीड व्यवस्थापन, दङ्गा नियन्त्रण योजना, स्वास्थ्य परीक्षण, मनोपरामर्श, खानपान–बसोबास सुधार र क्षमता वृद्धिका पूर्वाधार निर्माणसमेत समेटिएका छन्।
मन्त्रालयका अनुसार १५५ जनाको क्षमता भएको कारागारमा ६१९ कैदीबन्दी रहेकाले भीडकै कारण सुरक्षा चुनौती बढेको छ। क्षमता अनुसार कैदी राख्ने र आवश्यक परे अन्य कारागारमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ। संघीय सरकारको मातहतको कारागारमा ठुलो घटना भए पनि अहिलेसम्म उच्चस्तरीय छानबिन समिति गठन भएको छैन।