रौतहट : देवाहीगोनाही-९ मा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटन गर्ने विषयमा दुई पक्षबीच विवाद चर्किँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन्।
शनिबार दिउँसो कृष्ण मन्दिर परिसरमा भएको झडपमा नगरप्रमुख कानुको टाउकोमा १७ टाँका लगाइएको छ । प्रहरीका दुई हवलदारसहित अन्य तीन जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। उद्घाटन औपचारिकतामै विवाद उत्पन्न भएपछि दुवै पक्षबीच झडप भएको थियो ।