काठमाडौं : इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा जाने प्रक्रिया अघि बढेसँगै चिट्ठाबाट छनोट भएका नेपालीलाई राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न श्रम मन्त्रालयले आग्रह गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबार सूचना जारी गर्दै छिट्टै सुरु हुने प्रवेश प्रक्रियाका लागि राहदानीमा २०२४ जुन २५ सम्म कम्तीमा तीन वर्ष म्याद बाँकी हुनुपर्ने उल्लेख गरेको छ । विज्ञापन प्रकाशित मिति २०८१ असार ११ का आधारमा तीन वर्षभन्दा कम म्याद भएको राहदानी नवीकरण गर्नुपर्नेछ ।
त्यसैगरी, प्रहरी चारित्रिक प्रमाणपत्र ६ महिनाभन्दा पुरानो भए नयाँ लिनुपर्ने र कन्सुलर प्रमाणित गराउनुपर्ने विभागले जनाएको छ । भिसा प्रक्रिया सुरु हुँदा प्रमाणपत्र बहाल रहनुपर्ने स्पष्ट गरिएको छ ।
करार सम्झौताका लागि उम्मेदवारहरूले राहदानी र चारित्रिक प्रमाणपत्र दुवैको सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने विभागले सूचित गरेको छ ।