धुलिखेल : नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टीपी शर्मा तिमल्सिनाको उपचारका क्रममा निधन भएको छ। आज बिहान ४ बजे धुलिखेल अस्पतालमा उनले अन्तिम सास फेरेको पारिवारिक स्रोतले जनाएको हो ।
गत साउन १० गते बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ स्थित बीसमा दुई स्कुटर ठोक्किँदा तिमल्सिना गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो। तर, त्यसपछि पनि उनको पूर्ण रूपमा होस खुलेको थिएन। यसबीचमा थप शल्यक्रिया भए पनि स्वास्थ्यमा सुधार आउन सकेन। दुर्घटनामा उनका छोरा किशोर तिमल्सिना र अर्को स्कुटर चालक पनि घाइते भएका थिए।
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट नमोबुद्ध नगरप्रमुख निर्वाचित तिमल्सिना पूर्वपत्रकार र साहित्यकारसमेत हुन्। उनका दर्जनौं कविता प्रकाशित छन् भने खाल्डोभित्र नअटेको मान्छे शीर्षकको कृति प्रकाशनको तयारीमा रहेको परिवारले जनाएको छ।