


दोहा : कतारको गृह मन्त्रालयले सबै प्रकारका प्रवेश भिसाको म्याद एक महिनाका लागि थप गर्ने घोषणा गरेको छ।
फेब्रुअरी २८ देखि लागू हुने गरी म्याद सकिएको वा सकिन लागेको प्रवेश भिसा स्वतः एक महिनाले बढाइने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। यस सम्बन्धी जानकारी अन्तर्राष्ट्रिय मानवअधिकार संगठन कतार च्याप्टरका अध्यक्ष प्रोफेसर मोहम्मद रमजान अली मियाँले दिएका हुन्।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार म्याद विस्तार पूर्ण रूपमा विद्युतीय प्रणालीमार्फत निःशुल्क गरिनेछ। यसका लागि सम्बन्धित विभागमा व्यक्तिगत रूपमा उपस्थित हुन वा नयाँ आवेदन दिन आवश्यक नपर्ने स्पष्ट गरिएको छ।
तर, फेब्रुअरी २८ अघि भएका कुनै पनि उल्लङ्घनका हकमा भने प्रचलित नियमअनुसार जरिवाना तिर्नुपर्ने व्यवस्था यथावत् रहने मन्त्रालयले जनाएको छ। कानुनी नियम उल्लङ्घन वा ओभरस्टे जस्ता घटनामा तोकिएको जरिवाना अनिवार्य रूपमा लाग्ने उल्लेख गरिएको छ।
मन्त्रालयले यो निर्णय अस्थायी व्यवस्थाका रूपमा कार्यान्वयन गरिएको बताउँदै सेवाग्राहीलाई प्रचलित कानुन तथा नियमको पालना गर्न आग्रह गरेको छ।
गत शनिबार इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानमा आक्रमण गरेको थियो । उक्त घटनामा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधन भएपछि इरानले मध्यपूर्वका विभिन्न देशहरूमा मिसाइल आक्रमण तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |