


काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाका वडा नंवर २, ३ र ४ मा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, अण्डा तथा दाना नष्ट गरी निसंक्रमणको काम तीव्र बनाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले पन्छी फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्नुका साथै अनिवार्य निसंक्रमणको व्यवस्था लागू गरेको छ। एउटै व्यक्ति विभिन्न फार्ममा आवतजावत नगर्न, प्रयोग गरिएका अण्डाका क्रेट पुनः प्रयोग नगर्न र फार्ममा चुना वा निसंक्रामक राखिएको फुटबाथ प्रयोग गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, खोरभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न, नियमित सरसफाइ गर्न तथा मरेका पन्छी सुरक्षित रूपमा गाड्न कृषकलाई आग्रह गरिएको छ। नगरपालिकाले मासु र अण्डा राम्ररी पकाएर मात्र सेवन गर्न तथा ठूलो संख्यामा पन्छी बिरामी वा मरेमा तत्काल पशु सेवा शाखामा खबर गर्न अनुरोध गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |