काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति असन्तुष्टि जनाउँदै समस्या समाधानका नाममा नागरिकलाई विस्थापित गर्ने कार्य स्वीकार्य नभएको बताएका छन्।
उज्यालो नेपाल पार्टीनिकट युवा तथा विद्यार्थी विभागले आयोजना गरेको कार्यक्रममा उनले सुकुमवासी समस्या मानवीय र कानुनी दुवै दृष्टिले सम्बोधन हुनुपर्ने बताए। सरकारको पछिल्लो कदमप्रति संकेत गर्दै उनले एक रातको सूचना दिएर बस्ती हटाउनु उचित नभएको टिप्पणी गरे।
घिसिङले आफू नेपाल विद्युत् प्राधिकरण मा रहँदा नागरिकता भएका सबै नेपालीलाई विद्युत् सेवाको पहुँच दिनुपर्ने मान्यताका साथ सुकुमवासी बस्तीमा समेत निःशुल्क मिटर वितरण गरी विद्युत् जडान गरिएको स्मरण गरे। “राज्यको दायित्व नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउनु हो,” उनले भने।
देशमा सुकुमवासी र ऐलानी जग्गासम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारको भूमिका निर्माणमुखी हुनुपर्ने धारणा राखे। विगतका राजनीतिक आन्दोलन र द्वन्द्वले पर्याप्त क्षति बेहोरिसकेको मुलुकले अब विकास र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |