


काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा आफ्नो आचरणमाथि टिप्पणी गरिनु नियमविपरीत भएको संकेत गर्दै सांसदहरूलाई संसदीय मर्यादा पालना गर्न सचेत गराएका छन्।
बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० को सीमा विवादसम्बन्धी अभिव्यक्तिमा सभामुखले रुलिङ नगरेको विषय उठाउँदै अर्यालको निष्पक्षतामाथि प्रश्न गरेका थिए। उनले सभामुख अझै पनि आफू आबद्ध रहेको पूर्व राजनीतिक दलसँग निकट रहेको हो कि भन्ने आशय व्यक्त गरेका थिए।
यादवको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २१ स्मरण गराएका थिए। उक्त व्यवस्थाअनुसार सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावमाथिको छलफल बाहेक सभामुखको आचरणको आलोचना गर्न पाइँदैन।
लगत्तै सभामुख अर्यालले आफूले उक्त विषयमा ध्यानाकर्षण गरेको बताउँदै सांसद यादवलाई नियमावलीको व्यवस्था स्मरण गराएका थिए। नियमावलीले असंसदीय, अपमानजनक तथा सार्वजनिक शिष्टाचारविपरीत अभिव्यक्ति प्रयोग गर्न पनि निषेध गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |