


काठमाडौँ : कप्तान लियोनेल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान विजयी सुरुआत गरेको छ। कान्सास सिटीमा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दा मेसीले एकपछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाए।
सुरुआती टोलीमा स्थान बनाउँदै मेसी विश्वकपका छ संस्करण खेल्ने पहिलो फुटबलर बने। आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका उनले १७औँ मिनेटमा गोल गर्दै विश्वकपमा गोल संख्या १५ पुर्याए र ब्राजिलका रोनाल्डोको कीर्तिमान बराबरी गरे। त्यसपछि थप दुई गोल गर्दै उनले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे।
योसँगै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजेको १६ विश्वकप गोलको कीर्तिमान पनि भेट्टाए। उनी विश्वकप इतिहासमा लगातार पाँच खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बने।
सन् २००६ मा विश्वकप डेब्यु गरेका मेसीका लागि यो खेल अझ विशेष रह्यो। ह्याट्रिकपछि मैदान छाड्दा करिब ७० हजार दर्शकले उभिएर सम्मान व्यक्त गरेका थिए। अब अर्जेन्टिनाले समूह चरणमा अस्ट्रिया र जोर्डनको सामना गर्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |