


काठमाडौं : मनसुन पूर्वबाट क्रमशः सक्रिय बन्दै आगामी तीनदेखि चार दिनभित्र गण्डकी, लुम्बिनीका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर फैलिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रमा तथा गण्डकीका केही र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव रहेको छ। आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहने, पहाड र हिमालका केही स्थान तथा तराईका केही भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ।
कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा तथा मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई तथा मधेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान पनि छ।
राति पनि कोशीसहित पूर्व र मध्यका प्रदेशमा वर्षा निरन्तर रहने तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा समेत वर्षा विस्तार हुने जनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |