


काठमाडौँ : देशभर मनसुन सक्रिय बन्दै जाँदा आज पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद्ले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव देशभर कायम रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिममा पनि मनसुन पूर्ण रूपमा फैलिएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश तथा कोशी, मधेश, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशीका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
महाशाखाले दिउँसो र राति देशभर पूर्ण बदली रहने, हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ। विशेषगरी पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |