


काठमाडौँ : विदेशमा आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिएर बेरोजगार युवायुवतीबाट लाखौं रुपैयाँ असुल्ने गिरोहका पाँच जना प्रहरीको फन्दामा परेका छन्।
यूएई, जर्जिया, बेलारुस, रोमानिया र टर्की पठाइदिने भन्दै उनीहरूले विभिन्न व्यक्तिबाट १९ लाख ४२ हजार रुपैयाँ उठाए पनि न रोजगारी मिलाइदिए, न रकम फिर्ता गरे।
पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार कुनसाङले यूएई, धनबहादुरले जर्जिया, उमेशले बेलारुस, सचिताले रोमानिया र निरोजले टर्की पठाइदिने भन्दै रकम उठाएका थिए। रकम लिएपछि सम्पर्कविहीन बनेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |