


काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा ‘इरानी नाकाबन्दी’ पुनः लागू गर्ने घोषणा गरेका छन्। उनले उक्त समुद्री मार्ग प्रयोग गर्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाइने र यसको कार्यान्वयन तत्काल सुरु गरिने बताएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले हर्मुज स्ट्रेट इरानसँग वा इरानबिनै खुला रहने उल्लेख गर्दै नाकाबन्दीको उद्देश्य इरानी जहाज तथा इरानसँग सम्बन्धित ग्राहकका जहाजको आवतजावत रोक्नु रहेको बताएका छन्। अन्य मुलुकका जहाजले भने जलमार्ग स्वतन्त्र रूपमा प्रयोग गर्न पाउने उनको भनाइ छ।
अमेरिकी सेनाका अनुसार ट्रम्पको निर्देशनपछि मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाह लक्षित नाकाबन्दी पुनः लागू हुनेछ।
ट्रम्पको घोषणापछि इरानको शीर्ष सैन्य मुख्यालय खातम अल-अन्बियाले अमेरिकालाई हर्मुजको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने चेतावनी दिएको छ। अमेरिकाको गतिविधिले क्षेत्रीय सुरक्षामा गम्भीर जोखिम निम्त्याएको दाबी गर्दै इरानले हर्मुज नियन्त्रणमा लिन कुनै पनि प्रयास स्वीकार्य नहुने जनाएको छ। साथै, अमेरिकी कदममा सहयोग गर्ने कुनै पनि पक्षलाई इरानको सार्वभौमसत्ताविरुद्धको कदम मानिने र द्वन्द्व चर्किए सम्पूर्ण क्षेत्र प्रभावित हुने चेतावनी पनि दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |