


काठमाडौँ : अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा सवारी आवागमन रोकिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जोखिमका कारण लामो दूरीका सवारी साधन बसपार्कलगायत स्थानमै होल्ड गरिएको जनाएको छ।
नागढुंगा-मुग्लिन–नारायणगढ सडकखण्डमा चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो गएपछि बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ।
फर्पिङ-फाखेल-सिन्नेरी हुँदै हेटौंडा जाने सडक पनि कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरो खसेपछि बन्द गरिएको प्रहरीले जनाएको छ।
हिजो रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालन रोकिएकोमा आज बिहान पनि दिवाकालीन सवारी सञ्चालन अनुमति दिइएको छैन। सडकको अवस्था र जोखिमको निरन्तर मूल्याङ्कनपछि मात्र सवारी सञ्चालनबारे निर्णय गरिने ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पनि अर्को सूचना जारी नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा नगर्न यसअघि नै आग्रह गरिसकेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |