


काठमाडौँ : पछिल्लो समय गणेश नेपालीको आत्मदाह प्रकरणपछि त्यस्तै प्रकृतिका घटना र धम्की दिने क्रम बढ्दै गएको प्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। सामाजिक मनोविद् डा. दलिपकुमार मल्लका अनुसार आवेगमा आउने यस्ता आत्मघाती निर्णयहरू व्यक्तिको तत्कालीन मानसिक अवस्था र प्रतिकूल सामाजिक संरचनाको उपज हुन्।
समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई उद्धृत गर्दै डा. मल्लले वर्तमान समाजमा बढ्दो बेरोजगारी, आर्थिक सङ्कट, कानुनी जटिलता र प्रविधिको अत्यधिक प्रयोगका कारण सिर्जित सामाजिक एक्लोपन (सोसल डिट्याचमेन्ट) नै आत्महत्याको मुख्य कारण भएको औँल्याए। ‘विद्यमान नीति र वातावरणले मानिसलाई विचलित बनाउँछ र विद्द्वेषपूर्ण क्षणमा उसले आत्मघाती निर्णय लिन्छ,’ उनले भने, ‘सहकारी ठगी, व्यापारिक असफलता र घरायसी प्रेसरले नागरिकलाई अन्तिम विकल्पका रूपमा यस्तो बाटो रोज्न बाध्य पारिरहेको छ।’
पिटोओ खबरसँग कुराकानी गर्दै उनले यस प्रकारको बढ्दो जोखिमलाई रोक्न राज्य र समाज दुवै तहबाट तत्काल कदम चाल्नुपर्ने सुझाव दिए । पीडित नागरिकलाई कानुनी र आर्थिक दबाब दिनुको सट्टा आत्मबल बढाउने, स्वरोजगारका अवसर सिर्जना गर्ने र समाजमा सघन काउन्सेलिङ (परामर्श) सेवा विस्तार गर्नुपर्ने देखिन्छ। आन्दोलित र निराश मानसिकता भएका समूहहरूको यथार्थ पहिचान गरी बेलैमा सामाजिक परामर्श दिन सके मात्र यस्ता दुखद घटनाहरूलाई न्यूनीकरण गर्न सकिने विश्लेषकहरूको ठम्याइ छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |