


काठमाडौँ : देशभर मनसुन सक्रिय भएसँगै आज र आज राति कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा पश्चिममा सरदरभन्दा केही उत्तर तथा पूर्वमा सरदर अवस्थामै रहेकाले देशभर बदलीसँगै वर्षाको क्रम बढ्ने देखिएको हो। दिउँसोदेखि अधिकांश हिमाली, पहाडी र तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा बागमती र गण्डकीका एकाध स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि वर्षा निरन्तर रहने पूर्वानुमान गरिएको छ। यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्ने भएकाले नदी तटीय र पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |