


नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले जन्तर मन्तरमा प्रदर्शनरत विद्यार्थीमाथि भएको भनिएको प्रहरी दमनसम्बन्धी मुद्दामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ।
प्रधानन्यायाधीश सूर्यकान्त नेतृत्वको इजलासले भिडियो प्रमाण प्रस्तुत गर्ने प्रस्तावलाई अस्वीकार गर्दै ‘हामीसँग भिडियो हेर्ने समय छैन’ भनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
याचिकाकर्ताका वकिलले सोमबारको प्रदर्शनमा विद्यार्थीमाथि प्रहरीले बल प्रयोग गरेको दाबी गर्दै तत्काल सुनुवाइको माग गरेका थिए। उक्त प्रदर्शन संसद्को मनसुन अधिवेशनको पहिलो दिन ‘संसद चलो’ अभियानअन्तर्गत भएको थियो। प्रतिस्पर्धात्मक परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा हजारौं विद्यार्थीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै संसदतर्फ मार्च गरेका थिए।
प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको थियो। यस घटनामा प्रदर्शनकारी र प्रहरी दुवै पक्षका केही व्यक्ति घाइते भएका थिए। आन्दोलन भने अझै जारी छ भने अभियन्ता सोनम वाङ्चुकले अस्पतालबाटै अनिश्चितकालीन अनशनलाई निरन्तरता दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |