


काठमाडौँ : मनसुन सक्रिय भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पछिल्लो २४ घण्टामै देशभर ४७ वटा विपद्का घटना हुँदा तीन जनाको मृत्यु, आठ जना घाइते र करिब १३ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म पहिरोका १४, सर्पदंश र आगलागीका आठ–आठ, अविरल वर्षाका आठ, जनावर आक्रमणका तीन, बाढीका दुई तथा हावाहुरीको एक घटना भएका छन्।
प्राधिकरणले ठूलो वर्षाका बेला रातिको यात्रा सकेसम्म नगर्न, बाढी आएको खोला वा नदी तर्ने प्रयास नगर्न र पहिरो जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। चट्याङ, सर्पदंश र डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन, अत्यावश्यक कागजात र औषधि सुरक्षित राख्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना मात्रै विश्वास गर्न पनि अनुरोध गरिएको छ।
उद्धार तथा विपद् जानकारीका लागि १२३४, १०० र १११४ तथा मौसम जानकारीका लागि ११५५ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |