


काठमाडौँ : चिया उद्योगले भोगिरहेका समस्या र तिनको समाधान खोज्ने उद्देश्यले प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगी तथा उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा उत्पादन, निर्यात, बजार पहुँच र नीतिगत अवरोधलगायत विषयमा उद्योगीका धारणा सुन्ने तयारी गरिएको छ।
छलफलमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि-स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीलगायतका प्रतिनिधि सहभागी हुनेछन्। नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया र गुणस्तर परीक्षणसम्बन्धी व्यवस्थाले नेपाली चिया व्यवसायमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ।
भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण केही समयअघि करिब दुई महिना नेपाली चियाको निर्यात अवरुद्ध हुँदा इलाम र झापाका दर्जनौं उद्योग प्रभावित भएका थिए। त्यसको असर उद्योगसँग आबद्ध कामदारसम्म पुगेको थियो। प्रधानमन्त्रीसँगको छलफलमा यस विषयलाई प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ। यसअघि प्रधानमन्त्रीले उद्योग–व्यवसायसँग सम्बन्धित विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग पनि चरणबद्ध रूपमा संवाद गर्दै आएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |