


बनेपा : सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको पाकेटमारी तथा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले फरार कैदीसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन ६ गते बनेपा-८ चाँदनीचोक नजिक पनौतीबाट काठमाडौं जाँदै गरेको बसमा ७४ वर्षीय तीर्थबहादुर तामाङको झोलाबाट २६ हजार रुपैयाँ चोरी भएपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा सोही दिन अपराह्न बनेपा-८ तीनदोबाटोबाट काठमाडौंतर्फ भाग्ने प्रयास गरिरहेका बेथानचोकका विनोद आले मगर, श्याम तामाङ, सोनाम लामा तथा मकवानपुरका बालकृष्ण मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये सोनाम लामा झुम्का कारागार, सुनसरीबाट फरार रहेका कैदी भएको खुलेको छ।
प्रहरीका अनुसार यही समूहले असार ३० गते नमोबुद्ध नगरपालिका-४ मा अर्का यात्रुको पाकेटबाट ९० हजार रुपैयाँ चोरी गरेको आरोप पनि लागेको छ। पक्राउ परेका तीन जनाविरुद्ध चोरी, ठगी, लागूऔषध, अभद्र व्यवहार, ज्यानसम्बन्धी कसुरलगायत विभिन्न मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ। चारै जनामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |