


काठमाडौँ : भारतीय सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्। नीट-यूजी प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष छानबिन र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलनरत विद्यार्थीको समर्थनमा उनी अनशनमा बसेका थिए।
वाङचुकले सामाजिक सञ्जाल एक्समार्फत केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनशन अन्त्य गरेको जानकारी दिएका छन्। उनका अनुसार विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले समेत पत्र लेखेर अनशन तोड्न आग्रह गरेका थिए।
लामो छलफलपछि केही सर्तमा सहमति बनेको र देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको उनले बताएका छन्। सहमतिका सर्तबारे भने छिट्टै छुट्टै भिडियोमार्फत जानकारी दिने उनले उल्लेख गरेका छन्। साथै, देशभर शान्ति कायम राख्न र कुनै पनि प्रकारको हिंसात्मक गतिविधिमा संलग्न नहुन सबैलाई संयमित र जिम्मेवार बन्न उनले आग्रह गरेका छन्। जन्तर–मन्तरमा विद्यार्थीहरूको आन्दोलन भने निरन्तर जारी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |