


काठमाडौँ : सिरहाको भगवानपुर गाउँपालिका-४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका सर्पदंशका एक बालकको मृत्यु भएपछि स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्। घटनापछि हुलाकी सडक अवरुद्ध हुँदा क्षेत्र तनावग्रस्त बनेको छ।
स्थानीयका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै उपचार र एम्बुलेन्स सेवा उपलब्ध गराउन नसक्दा लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स चलाउन नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको स्थानीयको आरोप छ।
घटनापछि गाउँपालिका अध्यक्षसँग वार्ता हुने भनिए पनि उनी उपस्थित नभएको भन्दै आन्दोलनकारी थप आक्रोशित बनेका छन्। स्थानीयले हुलाकी सडकमा टायर र काठ बालेर चक्काजाम गरेका छन्, जसका कारण यातायात प्रभावित भएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। एम्बुलेन्स सञ्चालनमा अनुमति आवश्यक थियो वा थिएन, उपचारमा ढिलाइ किन भयो र बालकको मृत्युमा कसको लापरबाही थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |