


काठमाडौँ : तारकेश्वर नगरपालिका वडा नं. १ र ७ जोड्ने सडक खण्डमा भइरहेको विकास निर्माणको काममा ठेकेदारको लापरबाहीका कारण स्थानीय जनताले सास्ती भोग्नुपरेको छ।
चालू आर्थिक वर्षमा विनियोजन भएको १० लाख रुपैयाँ बजेटबाट उक्त बाटोमा प्लम कङ्क्रिट (Plum Concrete) गर्ने काम सुरु गरिएको थियो।तर, निर्माण कार्य सुरु भएको एक महिना बितिसक्दा पनि कामले गति लिन सकेको छैन। ठेकेदारले स्थानीय बासिन्दाका लागि हिँड्ने वैकल्पिक बाटो वा उचित व्यवस्था नगरिदिँदा वृद्धवृद्धा, बालबालिका र बिरामीहरू सबैभन्दा बढी मर्कामा परेका छन्। विगत एक महिनादेखि सो बाटो भएर आवतजावत गर्नै नसकिने परिस्थिति बनेको स्थानीय बासिन्दाको गुनासो छ।
“विकास हुनु राम्रो कुरा हो, तर जनतालाई पूर्ण रूपमा थुनेर, हिँड्ने बाटोसम्म नराखी महिनाौँसम्म काम अल्झाएर राख्नु ठेकेदारको सरासर लापरबाही हो,” एक स्थानीयले आक्रोश पोखे। यस विषयमा स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायले तत्काल ध्यान दिई ठेकेदारलाई छिटो काम सक्न र जनताको सास्ती हटाउन दबाब दिनुपर्ने माग स्थानीयवासीको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |