


काठमाडौँ : फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोले नियन्त्रणबाहिरको रूप लिएपछि दुई देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो फैलिने क्रम नरोकिँदा उद्धार र नियन्त्रण अभियानमा चुनौती थपिएको छ।
फ्रान्सको दक्षिणपश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो सहरतर्फ बढेपछि वरपरका सात सहरका बासिन्दालाई रातारात सुरक्षित स्थानमा सारिएको छ। गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब २ लाख मानिस विस्थापित भएका छन्। डढेलो नियन्त्रणका लागि सेना परिचालन गरिनुका साथै युरोपेली संघका सदस्य राष्ट्रहरूले विमान, हेलिकोप्टर र अग्नि नियन्त्रण टोली पठाएका छन्।
स्पेनमा पनि म्याड्रिड र अभिला क्षेत्रमा फैलिएको आगलागीका कारण करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले आपत्काल घोषणा गर्दै मौसममा आएको सामान्य सुधारलाई डढेलो नियन्त्रणको अवसरका रूपमा उपयोग गरिरहेको जनाएको छ।
डढेलोकै कारण टुर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण छोट्याइएको छ भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आपतकालीन बैठक बोलाएका छन्। यसैबीच इटालीको सिसिली र स्कटल्यान्डको केर्नगम्र्स राष्ट्रिय निकुञ्जमा पनि डढेलो फैलिएको छ। युरोपेली संघले यस वर्ष डढेलोबाट हुने क्षति विगतका सबै रेकर्ड तोड्न सक्ने चेतावनी दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |