


बनेपा : अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर ४८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–३ का २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरी ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार डुम्जनले अमेरिकी ५० डलरको नोट देखाउँदै ठूलो परिमाणमा डलर उपलब्ध गराइदिने विश्वास दिलाएर विभिन्न व्यक्तिबाट रकम असुल्ने गरेका थिए। अनुसन्धानका क्रममा २०८२ चैत २४ गते ५ लाख, २०८३ असार ५ गते २३ लाख र असार ६ गते २० लाख रुपैयाँ ठगी गरेको घटना खुलेको छ।
अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको टीभीएस स्कुटर, मोबाइल फोन, सिमकार्ड, कपडा, कापी र नगद २३ हजार ६० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक रविन विष्टले यस्ता प्रलोभनमा नपर्न र शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |