


इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति फेरि दुई समूहबीच हिंसात्मक झडप भएको छ। आइतबारको घटनापछि तनावग्रस्त बनेको क्षेत्रमा अवस्था सामान्य हुन नपाउँदै दुवै पक्ष घरेलु हतियारसहित आमनेसामने उत्रिएपछि बजार क्षेत्र पुनः अशान्त बनेको हो।
प्रहरीका अनुसार राति करिब ८ बजेदेखि सुरु भएको झडप नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिए पनि दुवै पक्ष आक्रामक बनेपछि अवस्था नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ। घटनास्थलमा खटिएका एक प्रहरीका अनुसार घरेलु हतियारसहित भिडन्त भएपछि बजार क्षेत्रमा त्रास फैलिएको छ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडप नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए। उनले थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए। आइतबार रातिको विवादपछि उत्पन्न तनाव अझै साम्य हुन नसक्दा देवानगञ्जको सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |