


काठमाडौँ : जोर्डनस्थित अमेरिकी सैन्य आधारमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकाले इरानका विभिन्न रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण सुरु गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा जवाफ’ दिने चेतावनी दिएको केही घण्टामै सेन्ट्रल कमान्डले सैन्य कारबाही थालेको हो। इरानी सञ्चारमाध्यमका अनुसार आबादान, बन्दर अब्बास र बुसेहर प्रान्तमा शक्तिशाली विस्फोट भएका छन्। बुसेहरमा इरानको एकमात्र आणविक ऊर्जा केन्द्र रहेकाले घटनाले अन्तर्राष्ट्रिय चासो बढाएको छ। यसैबीच अमेरिका र साउदी अरबले इराकस्थित इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेसका अड्डामाथि संयुक्त हवाई आक्रमण गर्दा २० लडाकु मारिएका र ३२ जना घाइते भएका छन्।
इराकले उक्त कारबाहीलाई आफ्नो सार्वभौमसत्तामाथिको उल्लंघन भन्दै विरोध जनाएको छ। उता, स्ट्रेट अफ हर्मुज क्षेत्रमा पनि तनाव चुलिएको छ। इरानी रिभोलुसनरी गार्डले तीन तेल ट्याङ्करलाई निशाना बनाएको दाबी गरेको छ। ट्रम्पले अमेरिकाको कारबाही इरानको आक्रमणको प्रतिउत्तरस्वरूप गरिएको बताएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |