


जनकपुरधाम : सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीबाट गोली चलेको घटनाको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरीले तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ। घटनापछि सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठेपछि प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको प्रहरी स्रोतले जनाएको छ।
समितिमा इन्स्पेक्टर यज्ञराज भट्ट र असई गोविन्द झा सदस्य रहेका छन्। समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापनको प्रभावकारिता तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
प्रहरीका अनुसार समितिले घटनास्थलको स्थलगत निरीक्षण, प्रत्यक्षदर्शी तथा सरोकारवालासँग छलफल, आवश्यक प्रमाण संकलन र उपलब्ध तथ्यको विश्लेषण गर्नेछ। गोलबजारमा भएको साम्प्रदायिक तनावका क्रममा प्रहरीबाट गोली चलेपछि घटनाको निष्पक्ष अनुसन्धानको माग उठिरहेको थियो। प्रदेश प्रहरीले समितिको प्रतिवेदनका आधारमा आवश्यक थप निर्णय र कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |