


काठमाडौँ : पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोपछि प्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्। अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी)का अनुसार बिहीबार बिहान करिब ९ः२० बजे क्याम्प-२ र क्याम्प–३ बीच हिमपहिरो जाँदा पुर्जाको नेतृत्वमा रहेको टोली प्रभावित भएको हो।
सम्पर्कविहीन हुनेमा पाँच नेपाली, पाकिस्तानका सोहेल साखी, ओमानकी नथिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चीनका वाङ तथा अर्का एक विदेशी आरोही छन्। ट्र्याकिङ उपकरणको विवरणअनुसार हिमपहिरोपछि टोलीले आरोहण रोकेको र सयौँ मिटर तल खसेको संकेत देखिएको छ।
घटनाबारे करिब १३ घण्टापछि मात्रै आधिकारिक जानकारी बाहिर आएपछि उद्धारमा ढिलाइ भएको प्रश्न उठेको छ। एसीपीले मौसम अनुकूल भए शुक्रबार हेलिकोप्टरमार्फत उद्धार टोली, अक्सिजन र आवश्यक सामग्री परिचालन गर्ने जनाएको छ। पुर्जा अक्सिजनबिना विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल दोस्रोपटक आरोहण गर्ने ऐतिहासिक लक्ष्यका साथ ब्रड पिक पुगेका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |