


काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई नजिक रहेकाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ ।
विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा समेत भारी वर्षाको सम्भावना औँल्याइएको छ ।
राति पनि अधिकांश प्रदेशमा वर्षाको क्रम जारी रहने पूर्वानुमान छ । विभागले भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |