


काठमाडौँ : खाना पकाउने ग्यासको बिक्री-वितरणमा पहुँच र चिनजानका आधारमा विभेद गरिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्दै निगरानी थालेको छ । कृत्रिम अभाव सिर्जना गर्ने वा सीमित ग्राहकलाई मात्रै ग्यास बिक्री गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको हो।
बुधबार जारी विज्ञप्तिअनुसार विभिन्न ब्रान्डका एलपी ग्यास डिपो, पसल तथा कम्पनीहरूले उद्योग वा आधिकारिक डिलरबाट ल्याएको ग्यास लुकाइछिपाइ आफू निकट व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि अनुगमन तीव्र पारिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालले अनुगमनलाई प्रभावकारी बनाउन सूक्ष्म निगरानीका लागि सादा पोशाकमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको बताए।
प्रशासनले ग्यास भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गर्ने, पहुँचका आधारमा बिक्री गर्ने वा अन्य गैरकानुनी गतिविधिमा संलग्न पाइए सम्बन्धित डिपो, पसल, फर्म तथा कम्पनीमाथि कडा कारबाही गरिने जनाएको छ। त्यस्ता स्थानबाट लुकाएर राखिएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |