


काठमाडौँ : विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान र सांस्कृतिक विविधताको संरक्षणमा जोड दिँदै आज विश्व आदिवासी दिवस मनाइँदैछ। दिवसका अवसरमा आदिवासी समुदायको भाषा, परम्परागत ज्ञान, जीवनपद्धति र पुर्ख्यौली भूमि तथा प्राकृतिक स्रोतसाधनमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा विभिन्न कार्यक्रम हुँदैछन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक यही दिन भएकाले अगस्ट ९ लाई दिवसका रूपमा छनोट गरिएको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति छन्। उनीहरू विश्व जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन्।
दिवसले आदिवासी जनजातिको अधिकार संरक्षणसँगै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको आवश्यकता औंल्याउँदै आएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |