


दाङ : घोराही उपमहानगरपालिका–१७ अन्तर्गत पर्ने पचुर्खा गाउँ (साविक त्रिभुवन नगरपालिका-२) आज पनि आधारभूत पूर्वाधार विकासको प्रतीक्षामा छ। मुख्यतः चौधरी समुदायको बसोबास रहेको यस गाउँमा केही अन्य समुदायका परिवार पनि बसोबास गर्छन्। स्थानीय बासिन्दाका अनुसार बहुदलीय व्यवस्थापछि राजनीतिक पूर्वाग्रहका कारण गाउँले अपेक्षित विकास पाउन सकेन। नगर क्षेत्रभित्र पर्दा पनि बिजुली, सडकलगायतका योजनामा पचुर्खालाई बेवास्ता गरिएको र विकासका आयोजना अन्यत्र केन्द्रित गरिएको उनीहरूको गुनासो छ।यस्ता कठिनाइका बीच पनि गाउँका नागरिकले विकासका लागि सम्बन्धित निकायमा निरन्तर आवाज उठाइरहे। यस अभियानको अगुवाइ स्वर्गीय जग्गुलाल चौधरी ले लामो समयसम्म गर्दै आएका थिए। गाउँको सडक, विद्युत् तथा अन्य पूर्वाधार निर्माणका लागि उहाँले सम्बन्धित निकायसँग पटक–पटक पहल गर्नुभएको स्थानीयहरू सम्झन्छन्।
गणतन्त्र स्थापना भएपछि स्थानीय तहमा दुई कार्यकालसम्म कम्युनिस्ट नेतृत्वको सरकार रह्यो। स्थानीयवासीले यस अवधिमा गाउँको विकासले गति लिने अपेक्षा गरेका थिए। तर उनीहरूका अनुसार आश्वासन धेरै मिले पनि परिणाम भने देखिएन। घोराही उपमहानगरपालिकाका दुई कार्यकालका मेयर र वडा नं. १७ मा पनि दुई कार्यकालसम्म एउटै राजनीतिक नेतृत्व हुँदा वडाका अधिकांश गाउँमा कालोपत्रे सडक पुगे पनि पचुर्खा गाउँ भने अझै धुलाम्मे सडकमै सीमित रहेको स्थानीयको भनाइ छ।पछुर्खाको सडक समस्या केवल यातायातको असुविधामा सीमित छैन।
वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक तथा कृषकहरू दैनिक रूपमा सास्ती भोग्न बाध्य छन्। स्थानीयका अनुसार यसले गाउँको सामाजिक तथा आर्थिक गतिविधिमा समेत प्रत्यक्ष असर पुर्याएको छ। यसबीच विकास अभियानका अभियन्ता जग्गुलाल चौधरीको निधन भइसकेको छ। उहाँपछि गाउँका समाजसेवी, युवा तथा स्थानीय प्रतिनिधिहरूले पटक–पटक सम्बन्धित निकायमा पुगेर सडक कालोपत्रे गर्न माग राख्दै आएका छन्। प्रत्येक वर्ष “यस वर्ष काम हुन्छ” भन्ने आश्वासन दिइए पनि सडक निर्माण अझै सुरु हुन नसकेको उनीहरूको गुनासो छ।
वर्षौँदेखि विकासको प्रतीक्षामा बसेका पचुर्खावासी अहिले निराश बन्दै गएका छन्। आगामी निर्वाचन नजिकिँदै गर्दा स्थानीयहरू प्रश्न गर्न थालेका छन्— “दशकौँसम्म पूरा नभएको विकासको वाचा लिएर अब जनतामाझ कुन मुखले भोट माग्न आउनुहुन्छ?” स्थानीयवासीको अपेक्षा स्पष्ट छ—राजनीतिक आश्वासनभन्दा माथि उठेर पचुर्खा गाउँको सडक कालोपत्रे लगायतका आधारभूत पूर्वाधार निर्माणलाई तत्काल प्राथमिकतामा राखियोस्, ताकि विकासको अनुभूति गाउँलेले व्यवहारमै गर्न सकून्।
विकासको मापन केवल बजेट विनियोजन वा घोषणा गरिएका योजनाले होइन, नागरिकले प्रत्यक्ष अनुभूति गर्ने पूर्वाधारले हुन्छ। पचुर्खाको अवस्था हेर्दा राजनीतिक परिवर्तनका अनेक अध्याय पार गरे पनि केही बस्ती अझै विकासको मूलधारमा जोडिन नसकेको यथार्थ देखिन्छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |