


काठमाडौँ : यातायात चालकहरूको हकहित र पेसागत सुरक्षाका लागि ‘यातायात चालक एकता समाज’ले ११ बुँदे मागसहित देशभर हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। मंगलबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै समाजले माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको हो।
समाजका अध्यक्ष सानु पूर्वछानेका अनुसार भदौ २७ गते काठमाडौँको खुलामञ्चमा मेची(महाकालीका सम्पूर्ण चालकहरूलाई उपस्थित भई हस्ताक्षर गर्न अपिल गरिएको छ। उक्त दिन दुर्घटनामा ज्यान गुमाएका चालकका परिवारलाई सम्मान गर्ने तथा घाइते चालकहरूलाई हौसला र आर्थिक सहयोग प्रदान गर्ने योजनासमेत रहेको उनले बताए।
अभियानमार्फत चालकको पेसागत सुरक्षा, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, लाइसेन्स र रुट परमिटसम्बन्धी समस्या समाधान, पार्किङ व्यवस्थापन तथा कानुनी सुधारको माग राखिएको छ।
पत्रकार सम्मेलनमा अधिवक्ताहरूसहित संस्थाका उपाध्यक्ष ईश्वर बस्नेत र सल्लाहकार राम थापाले दुर्घटनामा चालकलाई मात्र दोषी देखाउने प्रवृत्तिको अन्त्य गर्दै निष्पक्ष छानबिन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनुपर्नेमा जोड दिए। संकलित हस्ताक्षरसहित ११ बुँदे मागपत्र छिट्टै सरकारसमक्ष बुझाइने समाजले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |