

काठमाडौँ : काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लूका कारण ठूलो क्षति व्यहोरेका कृषकलाई क्षतिपूर्ति दिन सुरु गरिएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलका अनुसार सङ्क्रमणबाट प्रभावित ३० मध्ये २० कृषकले गत आर्थिक वर्षको अन्त्यसम्ममा राहत रकम प्राप्त गरिसकेका छन् भने बाँकी १० कृषकलाई चालु आर्थिक वर्षभित्र क्षतिपूर्ति दिइनेछ।
बर्डफ्लूका कारण जिल्लाको बनेपा, पनौती र पाँचखाल क्षेत्रका फार्महरूमा गरी ९० हजार २७५ पन्छी, ३८ हजारभन्दा बढी अण्डा र १० हजार केजीभन्दा बढी दाना नष्ट गरिएको थियो। कोशी प्रदेशबाट सुरु भई गत असारसम्म फैलिएको यो महामारीका कारण यहाँका पोल्ट्री व्यवसायीले लाखौँको नोक्सानी व्यहोरेका हुन्।
सङ्क्रमण नियन्त्रणका लागि हाल नाला, रोशी र खावा चेकपोस्टमा परीक्षण तथा अवैध ओसारपसारमा कडाइ गरिएको कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताए। साथै फार्महरूमा बायोसेक्युरिटीका मापदण्ड पालना गराउन र मरेका पन्छी जथाभावी नफाल्न पशुसेवा कार्यालयले आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |