

काठमाडौँ : प्रविधिसँगै भित्रिएको ‘रेडिएसन प्रदूषण’ (इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सी) ले मानव स्वास्थ्य र जैविक विविधतामा गम्भीर जोखिम निम्त्याइरहेको भन्दै यसबारे व्यापक अध्ययन र अनुसन्धानको माग गरिएको छ। पिटिओ खबरसँग कुराकानी गर्दै प्याराडाइम सिफ्टर तथा डट कनेक्टरका रुपमा चिनिएका राजु बस्यालले उक्त कुरा बताएका हुन्।
सञ्चार प्रविधिको तीव्र विकाससँगै जडान गरिएका टेलिकम, वाइफाई र टेलिभिजनका टावरहरूबाट उत्सर्जन हुने विकिरणको मात्रा नाप्न नेपालमा पनि ‘ट्राइफिल्ड मिटर’ को प्रयोग आवश्यक भइसकेको बस्यालको भनाइ छ।
उनका अनुसार मोबाइल फोन, टेलिकम टावर र अन्य डिजिटल डिभाइसले छाड्ने इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सी (EMF) ले मानव मस्तिष्क र हृदयको प्राकृतिक ऊर्जा प्रणालीमा प्रत्यक्ष प्रभाव पार्छ। विशेष गरी मोबाइलबाट उत्सर्जन हुने विकिरणको मात्रा (SAR भ्यालु) उच्च हुँदा मस्तिष्कको कोषमा तापक्रम बढेर टाउको दुख्ने, थकान हुने र अन्य शारीरिक समस्या देखिने गर्छ।
रेडिएसन प्रदूषणको असर मानव स्वास्थ्यमा मात्र सीमित नरही प्रकृतिमा पनि गहिरो गरी परेको उनले बताए। यस्तो विकिरणका कारण भंगेरा, परेवा, ढुकुर जस्ता साना चराचुरुङ्गी तथा दिशा पहिल्याएर लामो दूरी तय गर्ने माइग्रेटरी बर्ड्स (स्थानान्तरण हुने चरा) को प्राकृतिक मार्गनिर्देशन क्षमता (म्याग्नेटोरिसेप्शन) ह्रास भई बाटो बिराउने समस्या बढेको छ।
सन् २०१६ मा क्युबाको हाभानामा अमेरिकी कूटनीतिज्ञहरूमा देखिएको टाउको दुख्ने र अत्यधिक थकान हुने समस्या (हाभाना सिन्ड्रोम) सिन्थेटिक फ्रिक्वेन्सीकै परिणाम भएको दृष्टान्त दिँदै बस्यालले नेपालमा पनि ४जी र ५जी जस्ता प्रविधिको विस्तारसँगै यसको अनुगमन हुनुपर्नेमा जोड दिए।
नेपालमा वायु, जल र ध्वनि प्रदूषणको मात्र चर्चा भइरहेका बेला यो सूक्ष्म तर घातक मानिएको ‘रेडिएसन पोलुसन’ माथि खोज तथा अनुसन्धान गर्न उनले नेपाली सञ्चारमाध्यम, पत्रकार र रिसर्चरहरूलाई आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |